काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले ज्योतिज गट ट्यालेन्टको पहिलो संस्करण आयोजना गरेको छ । रचनात्मकता र सृजनात्मकताको अनन्त सम्भावनाहरूलाई उजागर गर्ने तथा बहुप्रतिभाका प्रतिमूर्तिहरूलाई सम्मान गर्ने उद्देश्यले बैंकका देशभरका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका कर्मचारीका साथै कर्मचारीका परिवारका बालबालिकाहरूको सहभागितामा बैंकको १६औँ वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
ज्योतिज गट ट्यालेन्टमा कर्मचारीहरूको लागि नृत्य, संगीत, हास्यव्यङ्ग्य, चित्रकला र कविता, गरी पाँच विधा राखिएको थियो भने बालबालिकाहरूका लागि नृत्य, संगीत, हास्यव्यङ्ग्य, चित्रकला, जादु हस्तलेखन र कविता गरी सात विधाहरू समावेश गरिएको थियो । जसमा प्रतियोगीहरूको सक्रिय सहभागिता रहेको थियो । उक्त खुला आन्तरिक प्रतिस्पर्धात्मक प्रतियोगिताका विजेताहरू मिति २०८१ साल श्रावण ९ गते बुधबार बैंकको १६औँ वार्षिकोत्सव समारोहको अवसरमा घोषणा गरिएको थियो । विजेताहरूलाई बैंकका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालद्वारा बधाइ ज्ञापन गरेका थिए । यस कार्यक्रममार्फत बैंकले कर्मचारीहरूको रचनात्मक सिप प्रवर्द्धन, आत्मविश्वासको अभिवृद्धि र बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै प्रतिभा उजागर गर्ने लक्ष्य राखेको छ । यो कार्यक्रमले बहुप्रतिभाले सुसज्जित कर्मचारी र उनीहरूको बालबालिकाको प्रतिभाको प्रस्फुटन हुने उचित अवसर प्रदान गरेको छ । बैंकिङ सिपका अलावा, बैंकका कर्मचारीमा रहेका अन्य विशिष्ट सिपलाई उजागर गर्ने र प्रोत्साहन गर्ने अवसरको रूपमा यो प्रतियोगिता आयोजना गरिएको हो ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम् चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करिब नौ सयभन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जीवन रक्षा गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।
बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल एक सय २१ वटा शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।