ढाका । बङ्गलादेशको प्रहरीले शुक्रबार घातक अशान्तिको आरोपमा विद्यार्थी आन्दोलनका तीन नेतालाई पक्राउ गरेको छ । आसिफ महमुद, नाहिद इस्लाम र अबु बेकर मजुमदार सबै स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका नेताहरु हुन् । उनीहरुको समूह निजामती सेवा भर्ती नियमविरुद्ध हालै सडक र्याली आयोजना गर्न जिम्मेबार छ ।
प्रधानमन्त्री शेख हसिनाको कार्यकालको केही सबैभन्दा खराब अशान्तिका क्रममा प्रहरी र अस्पतालले दिएको रिपोर्टअनुसार प्रहरीको कारवाही र झडपहरूमा कम्तीमा एक सय ९३ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।
तीनै जना नेताको राजधानी ढाकास्थित एक अस्पतालमा उपचार भइरहेको थियो । उनीहरू हिरासतमा प्रहरीको यातनाका कारण घाइते भएका थिए । बंगलादेशको प्रशासनले सुरक्षाका लागि विद्यार्थी नेताहरुलाई पक्राउ गरिएको जनाएको छ । सडक प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको छ । अस्पताल र प्रहरीले एएएफपीलाई दिएको तथ्यांकअनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच केही दिनयता चलेको झडपमा कम्तीमा दुई सय एक जनाको मृत्यु भएको थियो ।
इस्लामले यसै साताको सुरूमा एएफपीसँग कुरा गर्दै उनको राजधानी ढाकाको एक अस्पतालमा उपचार भइरहेको बताएका छन् । इस्लाम र उहाँका दुई सहकर्मीलाई हिरासतमा लिएको भन्ने कुरा प्रहरीले सुरुमा अस्वीकार गरेको थियो तर गृहमन्त्री असदुज्जमान खानले शुक्रबार अबेर पत्रकारसँग कुरा गर्दै भने, ‘केही मानिसहरूले उनीहरूलाई धम्की दिएको र उनीहरूले असुरक्षित महसुस गरिरहेको सूचनापछि सुरक्षाकर्मीको नियन्त्रणमा राखिएको हो ।’
उनले भने, ‘उनीहरूको सुरक्षाको लागि धम्की कसले दिइरहेको छ भनेर पत्ता लगाउन सोधपुछ आवश्यक छ । सोधपुछपछि हामी अर्को कदम चाल्नेछौँ ।’ खानले तीनै जनालाई औपचारिक रुपमा पक्राउ गरिएको हो वा होइन भन्ने कुराको कुनै पुष्टि भने गरेका छैनन् । गत हप्ता ढाकाका प्रदर्शनकारी र दङ्गा प्रहरीबीच सडक सङ्घर्ष भएको र सरकारी भवन र प्रहरी चौकीमा आगजनीसमेत भएको थियो ।