काठमाडौं,कार्यालयमा होस् वा सवारीसाधनमा अथवा घरमा... धेरै मानिस दैनिक रूपमा एकै ठाउँमा लामो समय बसिरहने गर्छन्।यसरी गतिहीन भएर एकै ठाउँ लामो समय बसिरहँदा त्यसले मुटु र मधुमेहसम्बन्धी गम्भीर स्वास्थ्य समस्याहरूको खतरा बढाउन सक्छ। सन् १९५३ मा इपिडिमियोलोजिस्ट जेरेमी मोरिसले गरेको एक अनुसन्धानमा लन्डनमा बस कन्डक्टरको दाँजोमा बस चालकहरूमा मुटुसम्बन्धी रोग दुई गुणाभन्दा बढी हुने देखिएको थियो।जनसाङ्ख्यिक हिसाबले उमेर, लिङ्ग र आयको आधारमा काम गर्ने दुई वटा समूह ब्रिटेनमा समान हुन् तर यस्तो उल्लेख्य फरक किन? मोरिसको जबाफ छ: बस कन्डक्टरले दुई तले बसमा भर्‍याङ पनि चढ्नुपर्थ्यो र टिकट बेच्दा उभिनु पर्थ्यो तर बस चालक भने लामो समयसम्म सीटमा बसिनै रहन्थे। उनको ऐतिहासिक अध्ययनले शारीरिक गतिविधि र मुटुको स्वास्थ्यबीचको सम्बन्धबारे प्रारम्भिक अध्ययन गरेको थियो। अहिले लन्डनमा बसमा कन्डक्टर हुने भन्ने विगतको कुरा भए पनि मोरिसको परिणाम विगतमा कहिल्यै नभएको तहमा सान्दर्भिक भएको छ। कोभिड-१९ महामारीयता घरबाटै काम गर्ने विषयमा ठूलो परिवर्तन आएको छ र यो बढ्दो क्रममा हुँदा हाम्रो एकै ठाउँमा बसिरहने समय बढाउने देखिन्छ। लामो समय एकै ठाउँमा बस्दा (सेडेन्टरी बिहेभिअर) मानिसले बसिरहने कारणले ऊर्जा कम खर्च गर्छ र मुन्टो निहुराएर बस्छ। आमरूपमा टीभी हेर्नु, गेम खेल्नु, सवारी चलाउनु र कुर्सीमा बसेर काम गर्नुजस्ता कुराहरू त्यसमा पर्छन्। एकै ठाउँमा धेरैबेर बसिरहनु मुटु रोग र टाइप २ डायबिटिज तथा अल्पायुमै मृत्यु जस्ता समस्यासँग जोडिएको हुन्छ। सन् २०२० मा विश्व स्वास्थ्य सङ्गठनले यस्तो व्यवहार कम गर्न उपायहरू सुझाएको थियो। सन् २०१० यता अनुसन्धानकर्ताहरूले शारीरिक गतिविधिको कमी र एकै ठाउँमा लामो समय बस्नु भन्नेे फरक हो भनेर छुट्टाउन खोज्दै आएका छन्। तपाईँले दैनिक पर्याप्त व्यायाम गरेर पनि लामो समय बस्न सक्नुहुन्छ। यद्यपि लामो समय एकै ठाउँमा बसिरहनेको खतरा व्यायाम पर्याप्त नगर्नेहरूमा उच्च हुन्छ। नचलमलाइ एउटै ठाउँमा लामो समय बस्दा त्यसले मुटुसम्बन्धी रोगको खतरा किन बढाउँछ? प्रारम्भिक अनुमान के हो भने खास गरी खुट्टामा रक्त प्रवाह कम गरिदिँदा त्यसले काम नगर्ने खतरा बढाइदिन्छ। अस्ट्रेलियाको मेलबर्नस्थित डीकिन युनिभर्सिटको फिजिकल एक्टिभिटी एन्ड न्युट्रिसनका फिजियोलोजिस्ट डेभिड डन्स्टनले लामो समय बसिरहनु र त्यसको असरबारे बृहत् अध्ययन गरेका छन्। "मांसपेशीको गतिविधिमा कमी ल्याउनुले बसाइको विशेषता देखाउँछ," डन्स्टनले भने। "म यदि कुर्सीमा छु भने कुर्सीले नै सबै जिम्मेवारी लिइरहेको हुन्छ।" मांसपेशी कम चल्नु, कम मेटाबोलिक माग र गुरुत्त्वाकर्षण कम हुँदा त्यसले खुट्टाको मांसपेशीमा कम रक्तसञ्चार गर्छ र त्यसले पिँडुलामा रगत जम्छ। खुट्टा दोबारेर बस्दा पनि त्यसले रक्त प्रवाह कम गर्न सक्छ।खुट्टाको मांसपेशीमा गतिविधि कम हुनुले 'मेटाबोलिक डिमान्ड' घटाइदिन्छ। रक्त प्रवाहको प्रारम्भिक निर्धारक भनेको मेटाबोलिक डिमान्ड हो। त्यसैले खुट्टामा रक्त प्रवाह कम हुन्छ। त्यसैले खुट्टा दोबारेर बस्दा त्यसले पिँडुलामा रगत जम्छ - २१ युवा स्वयंसेवकबीच गरिएको अध्ययनले दुई घन्टामा उनीहरूको पिँडुला करिब एक सेन्टिमिटरले बढ्यो। यसले पनि रक्त प्रवाह कम गर्न सक्छ। अनुसन्धानकर्ताहरूका अनुसार १२०-१८० मिनेटसम्म लगातार बसिरहनुलाई लामो समयमा बसेको मान्नुपर्छ। तर बस्ने अवधि बढ्दा त्यसले रक्त प्रवाह नहुने सम्भावना बढ्छ। चिल्लो खानेकुरा धेरै खाएर लामो समय बस्नु सबैभन्दा हानीकारक हुने ठानिन्छ।मांसपेशीय कङ्काल प्रणाली (मस्कुलर स्केलेटल प्रणाली) पनि प्रभावित हुन सक्छ। लामो समय बस्दा त्यसले मांसपेशी कमजोर बनाउँछ, हड्डीको घनत्व कम गराउँछ र तन्तुहरूमा बोसो बढाउँछ। साथै, लामो समय एउटै ठाउँमा बस्दा त्यसले शारीरिक असहजपना, काममा तनाव, उच्च डिप्रेसनका लागि पनि कारक बन्न सक्छ। टाइप टु डायबिटिजमा अनुसन्धान गरेका डन्स्टनले बसिरहने कार्य खानापछि बढ्ने र त्यसले रगतमा ग्लुकोज र इन्सुलिन बढाउने कुरा उल्लेख गरेका छन्। (बीबीसी)