उर्लाबारी । मोरङको उर्लाबारी–२ स्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या बढी देखिएको छ । आर्थिक वर्ष २०८०–८१ मा ११ हजार ४९० जनाले राहदानी लिएका छन् । राहदानी बनाउनुअघि अनिवार्य राष्ट्रिय परिचयपत्रको फारम भर्नुपर्ने भएपछि इलाका प्रशासन कार्यालय उर्लाबारीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड लाग्ने गरेको छ ।
प्रशासन कार्यालयका राहदानी शाखाका कर्मचारी विजय गोठाले गौतमले ४ हजार ५२१ जना महिला र ६ हजार ७९४ जना पुरुषले राहदानी लिएको बताए । जसमध्ये १७५ जनाले बाह्य कार्यालयबाट सिफारिस भएर उर्लाबारी कार्यालयमार्फत राहदानी लिएका हुन् । सोही अवधिमा कार्यालयबाट ७ हजार ९२ जनाले नागरिकता लिएका थिए ।
आर्थिक वर्ष २०७८–७९ मा इलाका प्रशासन कार्यालय उर्लाबारीबाट १ हजार ५९ महिला र १ हजार ५९९ जना पुरुष गरी कुल २ हजार ६५८ जनाले राहदानी लिएका थिए । त्यस्तै आर्थिक वर्ष २०७९–८० मा ४ हजार ४८९ जना महिला र ६ हजार ४९६ जना पुरुष गरी कुल १० हजार ९८५ जनाले राहदानी लिएका छन् । कार्यालयले सोही अवधिमा ९ हजार ५०२ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरेको थियो ।
कार्यालयबाट बैबाहिक अङ्गीकृत नागरिता लिनेको सङ्ख्या पनि बढेको छ । कार्यालयले दिएको तथ्याङ्कअनुसार २०७८–७९ मा २८ जनाले नागरिकता लिएका थिए । आर्थिक वर्ष २०७९–८० मा ५६ जनाले र आव २०८०–८१ मा ६६ जनाले नागरिकता लिएका छन् ।