सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि मृतकका परिवारका सदस्यलाई थप सुविधा व्यवस्थापनबारे अन्योल उत्पन्न भएको छ । अन्योल उत्पन्न भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सौर्यसँग छलफल गरेको छ ।
छलफलमा सौर्य एयरलाइन्स प्रालिबाट मृतकका परिवारलाई थप सुविधा व्यवस्था गर्न एयरलाइन्सका अध्यक्षसँग छलफल भए पनि ठोस सहमति हुन सकेको छैन । छलफलमा सौर्य एयरलाइन्सले मृतकका परिवारका सदस्यहरुलाई दक्षता र योग्यताबमोजिमको रोजगारीको प्रतिबद्धता मात्र जनाएको छ ।
मृतकको बीमाबारे भने प्रभु इन्स्योरेन्स प्रा.लिमा बीमा गरिएको र बेलायतको लोयड्स कम्पनी पुनर्बीमकको रुपमा रहेकोले उक्त कम्पनीका प्रतिनिधिसँग छलफलपश्चात् बीमा रकमको निर्क्यौल हुनेबारे छलफल भएको छ । साथै बीमा रकम हस्तान्तरण सहज तरिकाले यशाशीघ्र सम्पन्न गर्न सौर्य एयरलाइन्स प्रालिलाई निर्देशन गरिएको मन्त्रालयले जनाएको छ ।
छलफलमा मन्ट्रियल कन्भेनसनबमोजिम किन बीमा व्यवस्था नगरिएको भन्नेबारे पनि मन्त्रालयमा चर्चा भएको थियो । तर नेपालले पनि सन् २०१८ मा यात्रु बीमासम्बन्धी उक्त सन्धि (१९९९) अनुमोदन गरेको र उक्त व्यवस्था अन्तर्राष्ट्रिय उडानलाई मात्र लागू हुने भएकाले यो दुर्घटनामा नमिल्ने देखिएको छ । हाल आन्तरिक उडानमा सरिक हुने यात्रुहरुको बीमा २० हजार अमेरिकी डलर रहे पनि त्यो यात्रु उडानमा मात्र लागू हुने मन्त्रालयले उल्लेख गरेको छ ।
हाल आन्तरिक नियमित उडानमा सरिक हुने यात्रुहरुको बीमा रकम कम भएकोले आन्तरिक उडानका लागि बीमा व्यवस्था गर्नेसम्बन्धी विधेयक तर्जुमाका लागि कार्य अगाडि बढेको पनि मन्त्रालयले जनाएको छ ।
यही साउन ९ गते भएको ९एन एएमई सीआरजे२०० दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको छ । हालसम्म विदेशी यमनी नागरिकबाहेक मृतकका सबै परिबारहरुले शव बुझेको अवस्था रहेको र यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकोले यमनको दूतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको जनाइएको छ । शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सवाट भएको पनि मन्त्रालयले जनाएको छ ।