गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार भीषण पहिरोमा परी बेपत्ता भएकाहरूको सोमबार बिहानैदेखि खोजी सुरु गरिएको छ । आइतबार दिनभर पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको खोजी गरिए पनि फेला पार्न नसकिएपछि सोमबार बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी बेपत्ता भएकाको खोजीका लागि जुटेको उनले बताए । “पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ”, उनले भने, “हिजो दिनभर खोजी गर्दा केही पत्ता लागेन, आज फेरि बिहानैबाट खोजीकार्य थालेका छौं ।”
आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उनीसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका थिए । बेपत्ताको खोजीका लागि ‘जेसिवी मेसिन’को प्रयोग गरिएको श्रेष्ठले बताए ।
प्रहरीले सोमबारदेखि बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी थालेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीले बगाएको हुनसक्ने अनुमान गरिएको छ ।