काठमाडौं । क्यानाडाको एबी प्रोपभिन्सअन्तर्गत रक्की माउन्टेनको काखमा रहेको ग्यालरी सहरमा अलबर्टा नेपाल चेम्बर स्थापना गरिएको छ । ग्यालरी सहरमा आयोजित एक विशेष समरोहका बीच क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौडेलले सो चेम्बरको उद्घाटन गरेका थिए ।
कार्यक्रममा राजदूत पौडेलले एएनसीसीले नेपालको आर्थिक विकास, सामाजिक विकास, पर्यटन प्रवर्द्धनलगायतमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै एएनसीसीलाई नेपाल सरकारको सहयोग रहने बताए । कार्यक्रममा एबी प्रान्त सरकारका कानुनमन्त्री मिक्की अमेरीले आफ्नो तर्फबाट एएनसीसीलाई पूर्ण सहयोग रहने बताएका थिए । साथै, एएनसीसीमार्फत नेपाल सरकार र एबी प्रान्तबीच ऐतिहासिक सम्बन्धको सुरुवात भएको उनले बताए ।
कार्यक्रममा क्यानाडा सरकारका सल्लाहकार जर्ज चाहलले एएनसीसीलाई केन्द्रीय सरकारसँग समन्वय गराई कृषि, ऊर्जासम्बन्धी विकासको पक्षमा आफू पूर्णरूपले सहयोग गर्ने र आवश्यक सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरे । उनले आफू क्यानाडाको प्राकृतिक स्रोत समितिको अध्यक्ष भएको हैसियतले आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा एएनसीसीका अध्यक्ष समीर पाण्डेले अलबर्टा नेपाल चेम्बरले नेपाल र क्यानाडाबीच आर्थिक विकास, पर्यटन प्रवद्र्धनलगायतका क्षेत्रमा ब्रिज चेम्बरको काम गर्ने बताए । एबी प्रान्तमा रहेका व्यवसायीलाई व्यापार प्रवर्द्धनमा मार्गदर्शनको काम एएनसीसीले गर्ने उनले बताए ।
एनआरएनए क्यानाडाका अध्यक्ष माधव दुलालले यो कार्यक्रम ऐतिहासिक भएको र यसले नेपाल र क्यानाडाबीचको व्यापारिक र सांस्कृतिक सम्बन्धको पूर्ण सहयोग र समन्वयन रहने बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार राजन्द्र मल्ल र मुकुन्द तिमिल्सिनाले एएनसीसीलाई पूर्ण सहयोग र सहकार्य गर्ने प्रतबद्धता जनाएका थिए ।