काठमाडौं । कम्बोडियाले नेपालमा पर्यटक र व्यापार भिसा सेवा सुरु गरेको छ । कूटनीतिक र आर्थिक सम्बन्ध सुदृढ पार्ने उद्देश्यले नेपालमा रहेको कम्बोडिया राज्यको मानार्थ वाणिज्य दूतावासले नेपाली नागरिकका लागि भिसा सेवा सुरु गर्ने घोषणा गरेको हो ।
यस महत्वपूर्ण पहलको उद्देश्य यात्रालाई सुव्यवस्थित गर्ने र दुई राष्ट्रहरूबीचको घनिष्ठ सहयोगलाई बढावा दिने रहेको जनाइएको छ । नेपालका लागि कम्बोडियाका अवैतनिक वाणिज्य दूत क्याबिनेट श्रेष्ठले हालै पानीपोखरीस्थित वाणिज्य दूतावासको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी भिसा आवेदन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा उनले नेपाल र कम्बोडियाबीचको बलियो सम्बन्धलाई सुदृढ गर्दै नेपाली नागरिकका लागि भिसा सेवा सुरु गर्न पाउँदा खुसी लागेको बताए । ‘यो पहलले द्विपक्षीय सम्बन्ध विस्तार गर्न र हाम्रा दुवै जनताका लागि सहज यात्रा सहज बनाउने हाम्रो प्रतिबद्धता झल्काउँछ । हामी यस नयाँ सेवामार्फत थप सहयोग र समझदारी बढाउन तत्पर छौं’, उनले भने ।
मानार्थ वाणिज्य दूतावासले कम्बोडिया र नेपाली दुवै नागरिकलाई सहयोग गर्न, सांस्कृतिक आदानप्रदान प्रवद्र्धन गर्न र व्यापार र लगानीलाई सहजीकरण गर्न समर्पित रहेको जनाइएको छ । यस सेवाले कम्बोडिया र नेपालबीचको गहिरो जरा गाडिएको मित्रता र सहयोगलाई जोड दिन्छ, जुन चुनौतीपूर्ण समयमा पारस्परिक सहयोग र निरन्तर कूटनीतिक आदानप्रदानबाट उदाहरणीय भएको छ ।