काठमाडौँ । गत असार ३० गते प्रधानमन्त्री केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त भएपछि उनी जन्मेको जिल्ला तेह्रथुमका सङ्घीय सांसद, स्थानीय तहका जनप्रतिनिधिसहित सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता–कार्यकर्ताहरुले खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले प्रधानमन्त्री ओलीलाई सामूहिकरुपमा भेटेर कार्यकाल सफलताको बधाई तथा शुभकामना दिए ।
आफ्नो गाउँठाउँको व्यक्ति मुलुकको शासनसत्ता सञ्चालनको मुख्य जिम्मेवारीमा पुग्दा त्यहाँका जनप्रतिनिधि र बासिन्दालाई खुसी र गौरव लाग्नु स्वभाविकै हो । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री सीता गुरुङसहितको टोलीले जिल्लामा विकास निर्माणका कामले गति पाउने आशा र विश्वास व्यक्त गरेका छन् ।
२०२० सालमा तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा २००८ फागुन ११ गते जन्मिएका प्रधानमन्त्री ओलीको परिवार झापा बसाइ सरेका हुन् । “हाम्रै धुलो माटोमा जन्मिएर चार चार पटकसम्म मुलुकको प्रधानमन्त्री हुनु हामी जिल्लावासीका लागि गौरवको विषय हो । संयोगले यस पटक विश्वासको मत दिने क्रममा म पनि तपाईँको पक्षमा उभिन पाएँ । एक पटक जिल्ला र जन्मस्थल आठराई आएर त्यहाँको अवस्थाबारे बुझिदिनुहोला”, कांग्रेस सांसद गुरुङले आग्रह गरिन् ।
सांसद गुरुङ र आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले दिएको विकास निर्माण सम्बन्धि लिखित मागपत्रलाई प्रधानमन्त्री ओलीले आवश्यक कारवाहीका लागि आफ्नो सचिवालयलाई जिम्मा दिए ।
सांसद गुरुङले प्रधानमन्त्री ओली पढेको पोखारी माध्यमिक विद्यालयको भवन जीर्ण अवस्थामा रहेको, १५ शय्याको गाउँपालिका अस्पताल निर्माणमा ढिलाइ भइरहेको, सुकेपोखरी–प्रणामी मावि–ढङु्गेसाँघुु सडक, लुम्बुघाट मोटरपुल आदि ठेक्का लागेका योजना अलपत्र परेकाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराइन् ।
गाउँपालिकाकाले चुहानडाँडामा निर्माण हुने विमानस्थल लामो समयदेखि वातावरणीय प्रभावको अध्ययनमा मात्र सीमित भइरहेको हुँदा वातावरणीय अध्ययन कार्यलाई यथाशिघ्र सम्पन्न गरी निर्माणकार्य अगाडि बढाउन आवश्यक निर्देशन दिन आग्रह गरेको छ ।