ब्रजिल । अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले न्यून कार्बन अर्थतन्त्रमा विश्वव्यापी संक्रमणको लागि सन् २०५० समम प्रत्येक वर्ष तीन ट्रिलियन नयाँ पुँजी आवश्यक पर्ने बताएकी छिन् । येलेनले ब्राजिलको राजधानी रियो दि जेनेरियोमा बिहीबार र शुक्रबार भएको जी २० वित्त नेताहरुको बैठकमा भाग लिएपछि शनिबार यस्तो बताएकी हुन् ।
‘जलवायु परिवर्तन, प्रकृति र जैविक विविधताको हानिलाई सम्बोधन गर्न बेवास्ता गर्नु भनेको खराब वातावरणीय नीति मात्र होइन, यो खराब आर्थिक नीति पनि हो’, उनले भनिन् । ठूला अर्थतन्त्र भएका धनी देशहरुले सन् २०२२मा विकासोन्मुख देशहरुका लागि जलवायु वित्तका लागि एक सय १६ बिलियन उपलब्ध गराएका थिए । जसको ४० प्रतिशत बहुपक्षीय विकास बैंकहरुमार्फत आएको थियो । येलेनले विश्व बैंक र इन्टर–अमेरिकन डेभलपमेन्ट बैंक (आईडीबी) लगायतका बैंकहरुले नयाँ लक्ष्य राखेको बताइन् । येलेनले दुई वर्ष अघि पनि जलवायु परिवर्तनसँग लड्न आफ्नो मिसन र ऋण क्षमता विस्तार गर्न आह्वान गरेकी थिइन् ।