काठमाडौँ । हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छिन् ।
मन्त्री डा. राणाले जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरुलाई सो जानकारी दिएकी हुन् । परराष्ट्रमन्त्री डा. राणालाई बिपीन जोशीका बुबासहित परिवारका सदस्यहरुले सोमबार उनको कार्यकक्षमा भेटेर बिपीनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए ।
मन्त्री डा. राणाले उक्त भेटमा जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन् । मन्त्री डा. राणाले इजरायलमा भएको आक्रमणपछि बिपीन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी दिइन् ।
मन्त्री डा. राणाले भनिन्, “उहाँको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ । उहाँले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरु हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताउनुभएको छ । जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागि पर्नुभएको छ । हामीले उहाँको रिहाइमा कुनै कसर बाँकी नराखी काम गरिरहेका छौँ । आशा छ, उहाँ नियन्त्रणबाट सकुशल मुक्त हुनुहुनेछ ।”
बिपीनको रिहाइका लागि आफू परराष्ट्रमन्त्री भएदेखि के गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरुलाई बिपीनको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको उनले बताइन् ।
यसअघि नेपाल भ्रमणका क्रममा कतारका राष्ट्रपति आएको बेला उनीसँग नेपाल सरकारले बिपीनको रिहाइका लागि पहलको आग्रह गरेको स्मरण गर्दै मन्त्री डा. राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आग्रह गर्ने जानकारी दिइन् । इजरायलमा गत अक्टोबरमा हमास समूहद्धारा भएको आक्रमणपश्चात उनीहरुकै नियन्त्रणमा रहेका बिपीन जोशी हालसम्म सम्पर्कविहीन छन् ।