काठमाडौं, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई तत्काल निलम्बन गर्न संसदमा आवाज उठेको छ । सत्तारुढ नेपाली कांग्रेसका सांसद उदयसमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका हुन।
सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद जबराले प्राधिकरणले हवाई सेवा सुरक्षाका लागि कुनै प्राथमिकता नदिएको जिकिर गरे।सांसद जबराले सरकारले नियमक निकायको रुपमा रहेको र प्राधिकरणलाई जिम्मेवार बनाएर मात्रै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सकिने बताए ।
‘अहिलेका डिजीले राजीनामा दिनुपर्दैन ?अथवा डिजीले राजीनामा नदियो भने नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म त्यो डिजीलाई सस्पेन्स गर्नु पर्दैन ? ,’ उनले भने, ‘हामीले विभिन्न घटनाहरुमा सबैले संसदमा बोल्छौं। यो बस दुर्घटना होस् कि एयर दुर्घटना होस् । त्यो पछि हामी बिर्सिन्छौं । एयर सेफ्टीलाई प्राधिकरणले प्राथमिकता दिन सकेको छैन ।’ विमानको मर्मत, सम्भारका लागि बजेटको कमी हुँदा पनि विमानहरु दुर्घटना हुन गएको सांसद जबराको भनाइ थियो ।