काठमाडौँ, असार १०
उन्नति लघुुवित्त वित्तीय संस्था र सहकार्य लघुुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सञ्चालन गर्नेभएका छन् । दुवै संस्थाहरूले मर्जरमार्फत यही असार २६ गतेबाट उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नाउँमा एकीकृत कारोबार सञ्चालन गर्ने तयारी गरेको हो ।
मर्जरमार्फत एकीकृत कारोबार सञ्चालन गर्नको लागि दुवै संस्थालाई नेपाल राष्ट्र बैंकले गत फागुुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । सोपश्चात् कम्पनी रजिष्टर्डको कार्यालयले भने एकीकृत कारोबारको लागि यही जेठ १९ गते स्वीकृति दिएको थियो । दुवै निकायबाट स्वीकृति पाएपछि संस्थाले एकीकृत कारोबारको मिति घोषणा गरेको हो ।
मर्जरको अन्तिम चरणमा पुुगेको उन्नतिको केन्द्रीय कार्यालय रूपन्देहीमा रहेको छ भने सहकार्यको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ । जसमध्ये उन्नतिले १५ वटा जिल्लामा लघुुवित्तसम्बन्धी कार्य काय गर्दै आएको छ भने सहकार्यले १० वटा जिल्लामा लघुुवित्तसम्बन्धी कार्य गर्दै आएको छ । सोमध्ये उन्नतिले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड २५ लाख ९८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड ९७ लाख ८१ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ करोड ८२ लाख ७५ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६७ करोड २३ लाख ३९ हजार रूपैयाँ निक्षेप संंकलन गरी एक अर्ब ८१ करोड ४९ लाख ११ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड छ लाख ७७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६२ लाख ८० हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८७ प्रतिशत रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा भने ५० करोड २९ लाख ७४ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३७ करोड ७५ लाख ६० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ८३ लाख सात हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १० लाख ८९ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुुपात एक दशमलव तीन प्रतिशत रहेको थियो ।