सर्लाही । आर्थिक प्रलोभनमा परेर उनकै घरमा काम गर्ने सहयोगीले पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या गरेको खुलेको छ । पुर्खौली गाउँ चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा ८१ वर्षिय रायको यही साउन ७ गते टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
पूर्व मन्त्री यादवसँग जग्गाको विषयमा लामो समयदेखि विवाद चल्दै आइरहेको छिमेकी चन्द्रनगर गाउँपालिका–१, रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायले दिएको आर्थिक प्रलोभनमा परेर घरमा काम गर्ने कविलासी नगरपालिका–३, घर भई चन्द्रनगर गाउँपालिका–१, रतनपुर बस्ने २५ वर्षीय राम उजैन रायले हत्या गरेको प्रहरीले जनाएको छ ।
मन्त्री यादवका छिमेकी वीरेन्द्र रायले राम उजैनलाई दुई लाख रुपियाँ नगद र व्यवसायको लागि एउटा फर्मसमेत बनाइदिन्छु भनी हत्या गर्न लगाएको खुलेको छ । सर्लाही प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न सहयोगी रामउजैन र योजनाकार छिमेकी वीरेन्द्रलाई सोमबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहले वीरेन्द्रको उक्साहट र प्रलोभनमा परेर रामउजैन एक्लैले पूर्व राज्यमन्त्री रायको हत्या गरेको अहिलेसम्मको अनुसन्धानमा खुलेको जानकारी दिए । रामउजैन आफैले साउन ७ गते मध्यरातमा पूर्व मन्त्री रायको हत्या भएको भन्दै गाउँले र प्रहरीमा खबर गरेका थिए । घटना लगत्तै प्रहरीले रामउजैनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न व्यक्तिलाई जिल्ला तथा प्रदेश प्रहरी समेतको एक साताको अनुसन्धानपछि सार्वजनिक गरेको हो । प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्या गर्न प्रयोग गरिएको उखु काट्ने फर्सा (फलामको धारिलो हतियार) समेत बरामद गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले रामउजैन र वीरेन्द्र दुवैलाई सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।