काठमाडौँ, असार १०
महालक्ष्मी विकास बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेटौंडा र टाँडी शाखामार्फत क्रमशः मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा अवस्थित आनन्द भैरव आधारभूत विद्यालयमा र चितवनको इच्छाकामना गाउँपालिका वडा न. ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरूको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमशः एक लाख ५० हजार र एक लाख ६५ हजार रूपैयाँ समेत गरी कुुल तीन लाख १५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो ।
बैंकका अनुसार यही असार दुुई गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष इन्द्रप्रसाद नेपाललाई एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेका हुुन । यसैगरी असार आठ गते रोयल सेञ्चुरी होटलमा सम्पन्न एक कार्यक्रमकाबीच शाखाका प्रबन्धक श्यामबाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अशेष भण्डारीलाई एक लाख ६५ हजार रकमको चेक हस्तान्तरण गरेका हुुन् । उल्लिखित कार्यक्रमहरूमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा एक सय दुुईवटा शाखाहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३९ करोड ७३ लाख ६४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैकको यस्तो नाफा ३८ करोड ७९ लाख छ हजार एक सय १४ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब सात करोड २० लाख ६१ हजार तीन सय २८ रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३५ अर्ब ४३ करोड ९६ लाख ५५ हजार एक सय १३ रूपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ७४ करोड २२ लाख १८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १९ करोड ८९ लाख ४४ हजार दुुई सय २९ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले ३० अर्ब ५९ करोड ११ लाख १० हजार रूपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १५ करोड ७१ लाख ९६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २६ लाख ७३ हजार तीन सय १२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।