काठमाडौं,राप्रपाका जिल्ला अध्यक्षहरुको भेला काठमाडौंमा हुने भएको छ । भेलामा सहभागी हुन विभिन्न जिल्लाका अध्यक्षहरु साउन १७ गते र १८ गते काठमाडौंमा आएने तयारी गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले साउन १ठ गते धुम्बाराही स्थित एस आर बैंक्वेटमा भेलाको उदघाटन गर्ने भएका छन् । भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम समेत रहेको राप्रपाले बताएको छ। भेलामा पार्टीको समग्र सांगठनिक अवस्थाको गम्भीर समिक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समिक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने, सक्रिय सदस्य वितरणको अवस्था तथा पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी बैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने लगायतका विषयमा छलफल तय भएको छ । जिल्ला अध्यक्षहरुको भेलामा ०८४ मा हुने तीन तहकै निर्वाचनको तयारीमा अहिलेदेखि पार्टीले कस्तो रणनीति तय गर्ने भन्ने विषयमा पनि छलफल हुने र पार्टी संगठनलाई पुनर्ताजगी गर्ने विविध विषयमा छलफल गर्दै साउन १८ गते भेलाको समापन हुने राप्रपाले बताएका छ ।