काठमाडौँ । चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति सक्दो सहयोग गर्न चीन तयार रहेको बताएका छन् । उनले नेपालको आर्थिक विकास चीनको चाहना भएको बताए ।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना नेपालको हितमा रहेको बताउँदै राजदूत सोङले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रोे राष्ट्रिय बैठकले निर्दिष्ट गरेका सुधार योजना नेपाललगायत छिमेकी देशका लागि महत्वपूर्ण छ भने । उनले सुधारका योजनाबाट दुवै देशका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे ।
“यी सुधारका उपायले चीन र नेपाललाई हिमालय पारि सम्पूर्ण तवरले जोड्ने सञ्जाल निर्माणलाई चाँडो अगाडि बढाउन, कृषि, उद्योग, व्यापार, ‘डिजिटल टेक्नोलोजी’, ऊर्जा, पर्यटन क्षेत्रको क्षमता विस्तारमा उपयोगी हुनेछन् । यसबाट नेपाललाई समृद्धिका अवसर प्राप्त हुनेछ”, राजदूत छनले भने ।
चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँं केन्द्रीय समितिको तेस्रोे बैठकले चीनको निरन्तर सुधार र खुलापनको सन्देश प्रवाह गरेको उनले बताएका छन् । उनले चिनियाँ कम्युनिष्ट पार्टी सुधार र खुलापनलाई दृढतापूर्वक उठाउँदै नयाँ युगको नयाँ यात्रामा लम्किरहेको स्पष्ट पारे ।
चाइना मिडिया ग्रुपका एसिया–प्रशान्त निर्देशक छा ओइ छाओ इले नेपालको परिचय आत्मीय र सरल नेपालीको हार्दिकताले दिनेगरेको बताउँदै हरेक पटक आफूलाई नेपाल आउँदा पुरानो मित्रको घरमा आएजस्तो अनुभव हुन्छ भनेका छन् ।
समानता, आपसी हित र दिगो मैत्रीप्रति दृढ विश्वास भएका नेपाल र चीनबीच सौहार्दपूर्ण सम्बन्ध रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले बताए । उनले भने, “दुई देशबीचको सम्बन्ध समस्या मुक्त छ, चीनले नेपालको विकासमा उदारतापूर्वक सहयोग गर्दै आएको छ । नेपालले सधैँ चीनको चासोलाई ध्यानमा राखेको छ । बिआरआई परियोजना कार्यान्वयनको ढाँचाबारे दुवै देशका सरकारले चाँडै निर्णय गर्ने र परियोजना शीघ्र कार्यान्वयन हुनेमा म विश्वस्त छु ।”
नेपाल र चीनबीचको सम्बन्ध सरकारीस्तमा मात्र नभई जनस्तरमा पनि प्रगाढ बन्दै गएको बताउँदै उनले प्रविधि र ज्ञान आदानप्रदान शैक्षिक उन्नतिमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले जनता–जनताबीचको सम्बन्ध आपसी लाभ र समझदारी प्रवर्द्धनका लागि उपयोगी भएको बताए ।
चीनको विकास र समृद्धिको अनुभवबाट नेपाल र बाँकी विश्वले सिक्न सक्ने धेरै विषय छन् नेपाल चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले भने । पारस्परिक सहयोगलाई दिगो बनाउन जनता–जनताबीचको सम्बन्धलाई सुदृढ पार्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले हाम्रा संस्था प्रामाणिक, निष्पक्ष र जवाफदेही पत्रकारितामा समर्पित रहेका बताए ।