काठमाडौं,सरकारले पुनः १० अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री गर्नेभएको छ । सरकारको लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र २०९२ (११ वर्षे) बिक्री गर्न लागेको हो ।कार्यालयका अनुसार साउन १६ गते बुधबार (आज) अपराह्न तीन बजेसम्म बोलकबोलको माध्यमद्वारा ११ वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्न लागिएको हो । ऋणपत्रको निष्काशन मिति २०८१ साउन १७ तोकिएको छ भने ऋणपत्रको परिपक्व हुुने अर्थात् साँवा भुक्तानी हुने मिति २०९२ साउन १७ गते तोकिएको छ । कार्यालयका अनुसार यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनीहरू, संगठित संस्था एवं नेपाली नागरिकहरूले खरिद गर्न सक्नेछन् ।अर्धवार्षिकरूपमा ब्याज भुक्तानी हुने र ब्याजमा आयकर समेत लाग्ने यो ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।