गण्डकी प्रदेशमा घुम्न जाने विदेशी पर्यटकहरूले दैनिक ११ हजार रूपैयाँ खर्च गर्नेगरेका छन् । नेपाल राष्ट्र बैंकको गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको बसाइ तथा खर्चको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदनअनुसार प्याकेज लिएर गण्डकी प्रदेश घुम्न जाने पर्यटकको औसत खर्च दैनिक ११ हजार आठ सय ६६ रूपैयाँ नौ पैसा अर्थात् ८९ दशमवल ३१ अमेरिकी डलर छ ।स्फुर्तरूपमा खर्च गर्नेगरी गण्डकी प्रदेश भ्रमण गर्न आउने पर्यटकहरूको दैनिक औसत खर्च सात हजार दुई सय १७ रूपैयाँ ३१ पैसा अर्थात् ५४ दशमलव ३२ अमेरिकी डलर देखिएको छ । प्रतिवेदनमा समेटिएका तीन सय ८४ पर्यटकहरूको भारित औसत दैनिक खर्च आठ हजार तीन सय ५५ रूपैयाँ २९ पैसा अर्थात् ६२ दशमलव ८९ अमेरिकी डलर देखिएको छ । विश्लेषण गर्ने क्रममा कुल दैनिक खर्चमा पर्यटकहरूको सबैभन्दा बढी खर्च खानामा २८ दशमलव २२ प्रतिशत, बसाइमा २७ दशमलव छ प्रतिशत, यातायात खर्चमा २१ दशमलव सात प्रतिशत र मनोरञ्जनमा १२ दशमलव तीन प्रतिशत मात्र रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
उमेरका आधारमा खर्च प्रवृत्तिको अध्ययन गर्दा गण्डकी प्रदेशमा जाने विभिन्न उमेर समूहका पर्यटकमध्ये ४६ देखि ५५ उमेर समुहका पर्यटकहरूले बसोबासका लागि ३२ दशमलव ४९ प्रतिशत, खानपिनका लागि २९ दशमलव २६ प्रतिशत र धार्मिक कार्यका लागि एक दशमलव ५७ प्रतिशत खर्च गर्नेगरेका छन् । यो खर्च अन्य उमेरसमूहको भन्दा बढी भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, २० वर्षसम्मको उमेर समूहको यातायात खर्च २४ दशमलव शून्य सात प्रतिशत र किनमेल खर्च नौ दशमलव ६५ प्रतिशत छ । २१ देखि ३० वर्ष उमेर समूहको पर्यटकहरूको मनोरञ्जन खर्च १८ दशमलव सात प्रतिशत र अन्य खर्च तीन दशमलव ३५ प्रतिशत छ ।
अधिकांश पर्यटकले सबैजसो भुक्तानी नगदको माध्यमबाट गर्नेगरेको पाइएको छ । प्रतिवेदनअनुसार ९४ दशमलव ९३ प्रतिशत पर्यटकले नगदमै कारोबार गर्नेगरेका छन् । बाँकीमध्ये चार दशमव ९७ प्रतिशतले कार्डको माध्यमबाट र शून्य दशमलव एक प्रतिशत पर्यटकले मोबाइल वालेटको माध्यमबाट भुक्तानी गर्नेगरेका छन् । बसाइ खर्चको भुक्तानीका लागि सबैभन्दा धेरै ८७ दशमलव ८० प्रतिशत पर्यटकले नगदका माध्यमबाट, ११ दशमलव नौ प्रतिशतले कार्डको माध्यमबाट र शून्य दशमलव ३० प्रतिशतले मोबाइल वालेटको माध्यमबाट भुक्तानी गर्नेगरेका छन् । खानपिन खर्चको भुक्तानीका लागि सबैभन्दा धेरै ९१ दशमलव ४४ प्रतिशत पर्यटकले नगदका माध्यमबाट र आठ दशमलव २६ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट भुक्तानी गर्नेगरेका छन् । त्यसैगरी यातायात खर्चको भुक्तानीका लागि सबैभन्दा धेरै ९६ दशमलव ६१ प्रतिशत पर्यटकले नगदका माध्यमबाट र तीन दशमलव ३९ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट भुक्तानी गर्नेगरेको प्रतिवेदनमा उल्लेख छ ।
पर्यटकले गर्नेगरेका विभिन्न पर्यटकीय क्रियाकलापका लागि भुक्तानी गर्ने क्रममा ९८ दशमलव १६ प्रतिशत पर्यटकले नगदका माध्यमबाट र एक दशमलव ८४ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट भुक्तानी गरेका छन् । यसैगरी पर्यटकहरूले तिर्ने राजस्वमा पनि सबैभन्दा धेरै ९८ दशमलव शून्य दुई प्रतिशत पर्यटकले नगद नै भुक्तानी गर्नेगरेको प्रतिवेदनमा उल्लेख छ । क्षेत्रगत पर्यटक आगमन यस अध्ययनका लागि सङ्कलित तथ्याङ्कको आधारमा समीक्षा अवधिमा विश्वका विभिन्न ४१ देशहरूबाट गण्डकी प्रदेशमा पर्यटकहरू भ्रमण गरेको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी पर्यटकहरू आउने देशहरूमा भारत, फ्रान्स, अमेरिका, बेलायत र अष्ट्रेलिया छन् । सबैभन्दा बढी युरोप महादेशबाट ४६ दशमलव २५ प्रतिशत पर्यटकहरू गण्डकी प्रदेश घुम्न पुगेको पाइन्छ । सबैभन्दा कम दक्षिण अमेरिका महादेशबाट शून्य दशमलव ७५ प्रतिशत पर्यटकहरू गण्डकी प्रदेश घुम्न पुगेका छन् ।
सर्वेक्षणबाट गण्डकी प्रदेशमा आउने पर्यटकहरूमध्ये ३१ देखि ४५ वर्ष उमेरसमूहका पर्यटकहरू सबैभन्दा बढी ३३ प्रतिशत रहेको र सबैभन्दा कम २० वर्षसम्म उमेर समूहका पर्यटकहरू एक दशमलव पाँच प्रतिशत रहेको देखियो छ । गण्डकी प्रदेशमा भ्रमण गर्ने पर्यटकहरू एकभन्दा बढी उद्देश्य लिएर भ्रमण गर्नेगरेको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी साहसिक क्रियाकलापमा ४० दशमलव १८ प्रतिशत, मनोरञ्जनका लागि २४ दशमलव शून्य तीन प्रतिशत, सांस्कृतिक प्रयोजनका लागि १६ दशमलव ८४ प्रतिशत, धार्मिक प्रयोजनका लागि १० दशमलव १८ प्रतिशत, अन्य प्रयोजनका लागि पाँच दशमलव ७९ प्रतिशत र दुई दशमलव ९८ प्रतिशत पर्यटकहरू व्यापारिक प्रयोजनका लागि आउनेगरेको प्रतिवेदनमा उल्लेख छ ।