काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ३० औँ ‘प्रकाश मानव अधिकार पुरस्कार’ पूर्णिमाया लामालाई प्रदान गर्ने भएको छ । सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत नमोबुद्ध नगरपालिका ९, दाप्चा, काभ्रेपलाञ्चोककी ६२ वर्षीया पूर्णिमाया लामालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको इन्सेकले जनाएको छ ।
इन्सेक कार्यसमितिको हालै सम्पन्न बैठकले संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उनलाई ३०औँ ‘प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित गर्ने निर्णय गरेको इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्याएको योगदानको स्मरण गर्दै उनको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ इन्सेकले सो पुरस्कार प्रदान गर्दै आएको छ ।
नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रबाट अधिकारोन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई ‘प्रकाश स्मृति दिवस’को अवसर पारेर पुरस्कृत गरिँदै आएको इन्सेकले जनाएको छ । यो पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार स्व विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व दयावीरसिंह कंसाकार, डा गौरीशंकरलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी वसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मा, रुकैया खातुनलगायत २९ जना सम्मानित भइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बुधबार ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आयोजना हुने एक कार्यक्रमका बीच लामालाई सम्मान गर्ने कार्यक्रम रहेको पनि इन्सेकले जनाएको छ । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार नगद प्रदान गरिन्छ ।