काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाई सुरक्षाबारे अनावश्यक टिप्पणी भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष मनोज कार्कीले मंगलबार विज्ञप्ति जारी गर्दै सुरक्षाजस्तो संवेदनशील विषयमा विभिन्न माध्यमबाट वायुसेवा कम्पनीहरूको हवाई सुरक्षा तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिकाप्रति गरिएको टिप्पणीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले निर्दिष्ट गरेको प्रावधानअनुरुप संघ र यसका सदस्य वायुसेवा कम्पनीहरू तथा प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख छ ।
हवाई सुरक्षाप्रति संघ र प्राधिकरण सदैव प्रतिबद्ध रहेको जनाउँदै भ्रमपूर्ण टिकाटिप्पणीप्रति विश्वास नगर्न अपिल गरेको छ । दुर्घटना काबु बाहिरको परिस्थितिमा हुने र यस्तो अवस्था व्यक्ति, संस्था वा नियमनकारी निकायको चाहनामा नहुने संघले स्पष्ट पारेको छ ।