खोटाङ । रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना सहाराविहीन दलित बालबालिकाको जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको छ । प्रहरीले स्थानीय टेकबहादुर नेपालीका १० वर्षीया छोरी मनकुमारी, नौ वर्षीया छोरी भूमिका र सात वर्षीय छोरा माधव नेपालीलाई उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले उद्धार गरिएका सहाराविहीन ती बालबालिकालाई विराटनगरस्थित बालसेवा आश्रम पठाइएको जानकारी दिए । “यही साउन ६ गतेदेखि टेकबहादुर जबर्जस्ती करणी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा छन् । उनकी २२ वर्षीया श्रीमती निर्मलाको २०८० फागुन २२ गते निधन भएको जानकारी प्राप्त भएको छ”, उनले भने, “घरमा बुबाआमा दुवै नभएपछि सहारासाविहीन उनीहरूको उद्धार गरिएको हो ।”
यसअघि प्रहरीले दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका दुईजना सडक मानवको उद्धार गरेको थियो । उद्धार गरिएका उनीहरु अहिले सोही आश्रममा जीवनयापन गरिरहेका छन् ।