बेइजिङ । चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुव्र्यवहार तथा हिंसाबाट जोगाउने उदेश्यले बिहीबारदेखि नयाँ नियमावली लागू हुने जनाएको छ ।
नयाँ नियमले अपमान, अफवाह, मानहानी र भेदभावजस्ता अवैध वा हानिकारक अनलाइन हिंसा रोक्नको लागि इन्टरनेट सूचना सेवा प्रदायकले प्रयोगकर्तालाई व्यक्तिगत मेसेजहरु स्वीकार वा अस्वीकार गर्ने विकल्प प्रदान गर्दछ ।
नयाँ नियमले इन्टरनेट सूचना सेवा प्रदायकलाई बौद्धिक सूचना छनोट, कस्टम किवर्ड छनोटजस्ता कार्यहरू कार्यान्वयन गर्न प्रोत्साहित गरेको छ । सेवा प्रदायकले प्रयोगकर्ताको अधिकारको रक्षा गर्न प्रमाण सङ्कलनलगायतका कार्यहरू गर्न आवश्यक रहेको प्रावधान नियममा समेटिएको छ ।
चीनको साइबरस्पेस प्रशासन, सार्वजनिक सुरक्षा मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र रेडियो र टेलिभिजन प्रशासनले संयुक्तरूपमा यो नियमावली जारी गरेको हो । रासस/सिन्हवा