काठमाडौं, अबदेखि अमेरिकी डलर एक लाखसम्मको सामानको आयातको लागि सटही सुविधा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार विदेशी विनिमय कारोबार गर्न अनुमतिपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८० लाई संशोधन गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । निर्देशनअनुसार अबदेखि एक पटकमा अधिकतम अमेरिकी डलर एक लाख वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान आयात गर्न सकिनेछ । यसबमोजिम एक पटक सटही सुविधा प्राप्त गरेपछि पुन सोही निर्यातकर्ताबाट अर्को सीपमेन्टको वस्तु आयातको लागि सटही सुविधा प्राप्त गर्नको लागि भने केही सर्तहरू पूरा गर्नुपर्नेछ । यस्तो सर्तहरूअन्तर्गत अघिल्लो पटक सटही सुविधा प्राप्त गरी आयात भएको सात दिन व्यतित भएपछि मात्र पुनः सटही सुविधा प्राप्त हुनेछ ।
यात भएको प्रमाणको रूपमा भन्सार कार्यालयले प्रमाणित गरेको भन्सार प्रज्ञापन पत्र तथा भन्सार राजस्व भुक्तानी भएको रसिद सम्बन्धित बैंक तथा वित्तीय संस्थामा पेस गर्नुपर्ने परिपत्रमा उल्लेख छ । अघिल्लो सटही सुविधा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिने आयातकर्ताको हकमा भने माथि उल्लिखित कागजातका अतिरिक्त सात दिन व्यतित भएको स्वघोषणा समेत आयातकर्ताले पेस गर्नुपर्ने छ । परिपत्रअनुसार माथि जे–जस्तो लेखिएको भए पनि पटक–पटक गरी सोही निर्यातकर्ताबाट सामान आयात गर्दा कुल आयात अमेरिकी डलर एक लाखको सीमाभित्र रहने भएमा सात दिन व्यतित हुन अनिवार्य हुनेछैन ।
राष्ट्र बैंकका अनुसार यसअघि भने सामान आयातको लागि सटही हुने यस्तो सिमा ६० हजार अमेरिकी डलर वा सोबराबरको परिवत्र्य विदेशी मुद्राबराबरको रहेको थियो । राष्ट्र बैंकका अनुसार सुनचाँदीजन्य उद्योग व्यवसायले पनि व्यवसायको लागि आवस्यक कच्चापदार्थ आयातको लागि एक लाख अमेरिकी डलर वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा उपलब्ध हुनेछ । यसअघि यस्तो सामान आयातको लागि ६० वा सोबराबरको परिवर्तन्य विदेशी मुद्राको सटही सुविधा थियो ।