काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पीडितको पक्षमा हुने गरी सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम अन्त्य गर्न लाग्नुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा राजधानीमा आयोजित ३२औँ प्रकाश स्मृति दिवस तथा ३०औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रममा उनले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपालमा द्वन्द्वको अवस्थालाई अन्त्य गर्न सफल भए पनि सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका काम बाँकी रहेको उनले बताए । ‘यी काम पूरा गर्ने जिम्मेवारी मानवअधिकारकर्मी, नेपाल सरकार, नागरिक समाजलगायत सबैको हो । सबै मिलेर अगाडि बढ्न आवश्यक छ’, उनले भने ।
उपप्रधानमन्त्री पौडेलले लोकतन्त्र नभई मानवअधिकार प्रयोगको अवस्था रहँदैन भन्नेमा नेपाल सरकार प्रष्ट र यसको संरक्षणका लागि प्रतिबद्ध रहेको बताए । मानवअधिकारको संरक्षणका लागि राज्यलाई जिम्मेवार बनाउन र नेपालमा न्याय मर्ने छैन भन्ने विश्वास दिलाउन सबै मिलेर थप कार्य गर्न आवश्यक रहेकामा जोड दिए । इन्सेकका संस्थापक अध्यक्ष तथा मानवअधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले द्वन्द्व सकिएपछि सङ्क्रमकालीन न्याय मुख्य सरोकारको विषय भएकाले यसमा सबै गम्भीर हुनुपर्ने बताए । इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले सङ्क्रमणकालीन न्यायको विषयमा नेपाल सरकारको धारणा सकारात्मक रहेको बताए ।
इन्सेकले यस वर्षको प्रकाश मानवअधिकार पुरस्कार काभ्रेको नमोबुद्ध नगरपालिका–९ दाप्चाकी पूर्णिमाया लामा तामाङलाई प्रदान गरेको हो । उनी सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत छिन् । कार्यक्रममा तामाङले निर्दाेष मान्छेलाई अपहरण गरी हत्या गर्नेलाई कारबाहीका लागि आफू सङ्घर्षमा रहेको र ढिलै भए पनि न्याय मिल्ने आशा रहेको बताइन् । गत वर्ष २९औँ प्रकाश मानवअधिकार पुरस्कार कपिलवस्तुकी रुकैया खातुनलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । ३२औँ प्रकाश स्मृति दिवस तथा ३०औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रमको अवसर पारेर इन्सेकले ‘साउथ एसियन ह्युमन राइट्स जर्नल’ प्रकाशन सुरुवात गरेको छ ।
इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको श्रीलङ्कामा भएको कार्यक्रमबाट नेपाल फर्कने क्रममा २०४९ साउन १६ गते थाई एयरको दुर्घटनामा परेर निधन भएको थियो । दुर्घटनामा काफ्लेसहित एक सय १४ जनाको निधन भएको थियो । मानवअधिकार अभियानमा क्रियाशील रहेकै समयमा दिवंगत भएका काफ्लेको सम्झनामा इन्सेकले प्रत्येक वर्ष ५० हजार राशिको ‘प्रकाश मानवअधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ ।