काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा कार्यरत पौडैलले यही साउन १४ गते सोमबारबाट कार्यान्वनमा आउनेगरी प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।
अर्थशास्त्रमा एमफिल र व्यवस्थापन स्नाकोत्तर उपाधि हासिल गरेका पौडैल हाल बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशकको भूमिकामा रहेका छन् । यसैबीच राष्ट्र बैंकले कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी दिएको छ । यसअघि डा भट्टको मुख्य जिम्मेवारी प्रवक्ताको रूपमा रहेको थियो । अनुसन्धान विभाग प्रमुख डा प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएपछि डा भट्टलाई जिम्मेवारी दिइएको राष्ट्र बैंकको भनाइ छ ।
यसअघि पनि अनुसन्धान विभागको जिम्मेवारी सम्हालिसकेका डा भट्ट त्योभन्दाअघि भने भुक्तानी प्रणाली विभागको प्रमुख थिए । अहिले भुक्तानी प्रणाली विभागमा भने वरिष्ठ निर्देशक विनोदराज आचार्यलाई कायमुकायमको जिम्मेवारी दिएको छ ।