काठमाडौँ । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठुलो योगदान रहेको बताएका छन् । राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मूर्धन्य, प्रतिभाशाली, इमानदार र स्वप्नशील नेता भएको धारणा राखे ।
पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गर्दै राष्ट्रपति पौडेलले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण र समाजका अन्तरविरोधहरूलाई सुविचारित ढङ्गले अभिलेखन गर्न पुष्पलालको योगदान रहेको बताए ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले पुर्याएको योगदानको स्मरण गर्दै राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापना गर्नका लागि पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र बाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनःस्थापना सम्भव भएको उल्लेख गरे ।