पोखरा । पोखराको पर्यटन प्रवर्द्धन गर्न ‘डुलुवा’ टोली भारत प्रस्थान गरेको छ । १९ सदस्यीय ‘डुलुवा’ टोली एक महिने भारत भ्रमणका लागि बिहीबार पोखराबाट भारत प्रस्थान गरेको हो । टोलीलाई पोखरा महानगर प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठलगायतले बिदाइ गरेका थिए ।
टोलीले भारतका विभिन्न सहरमा पुगेर स्थानीय व्यवसायी र पत्रकारसँग छलफल तथा अन्तर्क्रिया गर्नेछ । नेपालको कास्कीकोटदेखि भारत कन्याकुमारीसम्म भ्रमण गर्ने लागेको सो टोलीको यात्रालाई ‘केटुके’ नाम दिइएको छ । टोलीको यात्रा भारतको रक्सौल, पटना, कोलकाता, पुरी, भाइजाग, चेन्नई, पोंडीचेरी, रामेश्वरम्, कन्याकुमारी, कोची, गोवा, मुम्बई, अहमदाबाद, द्वारका, जयपुर, दिल्ली हुँदै पुनः पोखरामै आएर समापन हुनेछ । भ्रमण अगस्ट २५ मा पोखरामा आएर सकिने जनाईएको छ । टोली संयोजक योगश भट्टराईले नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको प्रचार गर्दै भारतीयलाई बढ्दो साहसिक पर्यटनका सम्भावनाबारे जानकारी गराउने ‘डुलुवा’ अभियानको मुख्य उद्देश्य रहेको बताए ।