उमेश दुबे
बारा, असार ११
बाराको फेटा गाउँपालिकाबाट विकासको निम्ति बिनियोजन गरिएको रकम स्थानीय सरकारकै सहयोगमा अनियमितता भएको पाइएको छ । सडक ढलान गर्नको निम्ति इट्टा, बोल्डर, गिटी, बालुवालगायत सिमेन्टको प्रयोग हुने गरे पनि बोल्डर माथि नै ढलान गर्न लागिएको छ । फेटा गाउँपालिका वडा नम्बर ४ फूलवरीयामा भइरहेको सडक ढलानमा वडा अध्यक्षकै संलग्नतामा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । सडक ढलान ६ इन्च हुनुपर्नेमा ३ इन्च मात्रै ढलान गरिरहेको स्थानीयले बताए ।
वडाअध्यक्षले फूलवरीया टोलमा भइरहेको सडक ढलानमा आफ्नै घरको सदस्यलाई उपभोक्ता समितिका अध्यक्ष बनाई रकम हिनामिना गर्नको निम्ति ६ इन्चको ठाउमा मात्र ३ इन्च ढलान गरिरहेको स्थानीयले आरोप लगाएका छन् । वडा अध्यक्ष वकिल यादवले गाउँपालिकाबाट आएको बजेटलाई दुरुयोग गर्दै आफ्नो मनोमानी तरिकाले सडक ढलान गराइरहेको उनीहरूको भनाइ छ । स्थानीयहरूले विकासको नाममा आएको बजेटले राम्ररी विकास निर्माणको कार्य हुन नसकेको बताए ।
फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलालप्रसादले गाउँपालिकामा पर्ने ७ वटै वडाहरूमा सडक ढलान, नालालगायतको निर्माण कार्य भइरहेको बताए । सडक ढलान, नाला निर्माणलगायतको कार्यमा कुनै किसिमको लापरबाही गरेको भेटिए भुक्तानी नगर्ने गाउँपालिका अध्यक्ष प्रसादले बताए । उनले आफ्नो क्षत्रेमा पर्ने सबैजसो गाउँहरूमा सडक निर्माणको कार्य भइरहेको हुँदा समयको अभावले आफैँ नखटी इन्जिनियरलगायतको टोलीलाई परिचालन गरिएको बताए । फेटा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वकिल यादवले सडक ढलानमा आफूले उपभोक्ता समितिलाई केही निर्देशन नदिएको बताए ।