गण्डकी । राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित वार्षिक गतिविधि पुस्तिका २०८०/८१ (वर्ष पुस्तक) हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एकअर्काका परिपूरक रहेको बताएका छन् ।
प्रदेश प्रमुख भट्टले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेको बताए । मानव अधिकारको विषय सामान्य जस्तो लागे पनि अत्यन्त गम्भीर रहेको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले यसको पालनमा सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
प्रदेश प्रमुख भट्टले भने, “मानव अधिकार सबैका लागि हो । आवाजविहीन र सीमान्तकृत समुदायका हकअधिकार स्थापित गर्न, मानव अधिकार प्रत्याभूत गर्न आयोगको महत्वपूर्ण भूमिका छ”, उनले भने, “मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ । यस्ता घटना हुनै नदिनेतर्फ सबै सजग र जिम्मेवार हुनुपर्छ ।”
मानव अधिकार आयोगसहित अन्य आयोगबाट भएका सिफारिस कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहने उनको भनाइ छ । राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिबद्ध रहने उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले आयोगलाई भौतिक स्रोतसाधन र आवश्यक पर्ने बजेट विनियोजन प्रदेश सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश प्रमुख भट्टले समाजमा सकारात्मक परिवर्तन ल्याउन कानुनी शासन आवश्यकपर्ने भन्दै यसका लागि सबै एकजुट भएर सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । उनले आफ्नो अधिकारको प्रयोग गरिरहँदा अरुको अधिकार हनन गर्न नहुनेमा जोड दिए ।
प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गर्दै राष्ट्रिय मानव अधिकार कार्यालय पोखराका प्रमुख नितु गड्तौलाले प्रदेशमा विद्यमान मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी गराएकी थिइन् ।