संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग टाइम्स अफ डे अर्थात् टीओडी विवरणको तथ्याङ्क उपलब्ध गराउन माग गरेको छ । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग यथाशक्य छिटो उक्त विवरण उपलब्ध गराउन भनेको हो ।
समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार शुक्रबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, विद्युत् नियमन आयोगका पदाधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उद्योगी तथा व्यवसायीसँग छलफल गरेको थियो । पाँच घण्टाभन्दा बढी चलेको सो छलफलका आधारमा समितिले आवश्यक विवरण माग गरेको सभापति पोखरेलले जानकारी दिए । समितिले डेडिकेटेड र ट्रंक लाइन महसुलको विवादका सम्बन्धमा केही दिनभित्र आवश्यक निर्णय गर्नसक्ने उनको भनाइ छ ।
बैठकमा प्राधिकरणका कार्यकारी निर्देशन घिसिङले भने डेटिकेटेड र ट्रंक लाइनको विवाद केही उद्योगीहरू आफैँले सिर्जना गरेको आरोप लगाए । डेडिकेटेड र ट्रंक लाइन प्रयोग गर्ने तीन सय ४० मध्ये ६१ वटा उद्योगले मात्र पैसा नतिरेको र अदालतमा परेका ९० मुद्दा सबै खारेज भइसकेको पनि कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।