काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । फाइनान्सको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रिक्त रहेको संस्थापक समूहको सञ्चालक पदमा बाँकी अवधिको लागि युवराज राईलाई नियुक्त गरेको छ । नेपाल सरकारमा उपसचिव पदमा रही लामो समय निजामती सेवामा कार्यरत रही सेवानिवृत्त राईसँग कोष तथा लेखा नियन्त्रण कार्यालय एवं भौतिक योजना तथा निर्माण मन्त्रालयलगायत विभिन्न विभाग र मन्त्रालयमा कार्य गरेको अनुभव छ ।
त्यसैगरी सोही बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा प्रविण भट्टराईलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १७ बमोजिम आगामी चार वर्षको लागि नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी सेवानिवृत्त भट्टराईसँग विभिन्न वित्तीय संस्थामा सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको कार्यानुभव छ । नवनियुक्त सञ्चालकहरुले गोर्खाज फाइनान्सको प्रगतिमा अतुलनीय योगदान पुर्याउने विश्वास संस्थाले लिएको छ ।