काठमाडौँ, असार ११
किसान माइक्रो फाइनान्स वित्तीय संस्थाले आफ्ना सबै कर्मचारीहरूको कोरोना बीमा गरेको छ । संस्थाका अनुसार अजोड इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा उक्त बीमा गरिएको हो । संंस्थाले प्रतिकर्मचारी एक लाख रूपैयाँसम्म सुरक्षण हुनेगरी कोरोना बीमा गराएको हो । संस्थाले बिमभि सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्न कोरोना बीमा प्रभावकारी औजार रहेकोे जनाएको छ ।
उक्त बीमालेख कायम रहेको अवधिमा कोरोना बीमा दाबीका लागि कोरोना भाइरस (कोभिड–१९) पिसिआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा कर्मचारीले तोकिएको बीमांक रकम बीमितले पाउने व्यवस्था रहेको संस्थाले जानकारी दिएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३६ लाख ७५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ३२ लाख ७५ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ६६ लाख आठ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ४३ करोड ८२ लाख ८४ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४८ करोड ५७ लाख ८६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ३८ लाख सात हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ७३ लाख ३० हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात पाँच दशमलव एक प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ३४ करोड ४५ लाख २४ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३९ रकोड ८५ लाख ९० हजार रूपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ४९ लाख २१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक दशमलव ३७ प्रतिशत रहेको थियो ।