सोमबार बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरे । वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये १० वटाको नाफा घट्यो भने १० वटाको बढ्यो । नाफा बढेका बैंकहरुको पनि वितरणयोग्य नाफा कतिको कम र कतिको ऋणात्मक भएकाले सेयरधनीलाई दिने लाभांश निकै कम देखिन्छ । यस्तै विकास बैंकहरुको पनि त्यस्तै अवस्था छ । एकाध विकास बैंकहरुको नाफा बढेको देखिए पनि लाभांश क्षमता न्यून छ । फाइनान्स कम्पनीहरुको अवस्था वाणिज्य बैंक र विकास बैंकहरुको तुलनामा निकै नै कमजोर छ ।
सोमबार नै जापान, अमेरिका, भारत, बेलायत, चीनलगायतका ठूला अर्थतन्त्र भएका देशको सेयरबजारमा भारी गिरावट देखियो । मध्यपूर्वमा युद्ध लम्बिने देखिएपछि केही दिनदेखि विश्व सेयरबजारमा उतारचढाव आइरहेको छ ।नेपालमा भने सरकार परिवर्तन र मौद्रिक नीतिको हवला दिँदै बढाइयो । विगतमा मुस्किलले केही अर्बको सेयर किनबेच हुनेगरेकोमा मंगलबार २३ अर्बभन्दा बढीको सेयर किनबेच भयो । नेपालको अर्थतन्त्रका सबै सूचकहरु कमजोर छन् । बजार चलायमान बन्न सकेको छैन । बैंकहरुको निक्षेप बढेको छ भने कर्जा प्रवाह न्यून छ । वितरणयोग्य नाफा कम हुँदा लाभांश दिने क्षमता कम छ । तर बजार एउटा मन्त्री फेरिँदैमा र मौद्रिक नीति आउँदैमा यति धेरै बढ्नु नपर्ने हो । अर्थतन्त्र अझै मजबुत हुन नसकेको अवस्थामा सेयरबजारमा यति धेरै पैसा कहाँबाट आयो । व्यक्ति परिवर्तन हुँदैमा लगानीकर्ताको मनोबल बढेर सेयरबजार बढेको भनिएको छ ।
तर, सेयरबजारबाहेकको बजार किन चलायमान नभएको ? बैंकहरुको कर्जा किन नबढेको ? अर्थतन्त्रको अन्य परिसूचकहरु किन नबढेको ? उद्योगहरुको उत्पादन क्षमता किन नबढेको ? उपभोक्ताको क्रयशक्ति किन नबढेको ? लगानीकर्ताहरुको मनोबल बढेर सेयरबजार बढेर उच्चबिन्दुमा पुगेको अवस्थामा सबै कुरा बढ्नुपथ्र्यो नि होइन र ? तर किन नबढेको ? के सेयरबजारमा कालोधन प्रयोग भएको हो ? के नयाँ सरकार गठन भएपछि कालोधनलाई सेतो बनाउन सेयरबजारलाई कृत्रिमरुपमा बढाइएको हो ? यदि होइन भने अर्थतन्त्र सङ्कुचित किन भइरहेको छ । के धमिलो पानीमा माछा मार्ने केही सीमित व्यक्ति तथा संस्था वा समूहले आफ्नो स्वार्थसिद्धिको लागि मात्र सेयरबजार बढाएको हो ? राज्य संयन्त्र गभ्मीर हुनुपर्छ । यदि राज्य संयन्त्र गम्भीर नहुने यो भने यसले गम्भीर दुर्घटना निम्त्याउने निश्चित छ ।