काठमाडौं, महानगरपालिकाका मेयर बालेन्द्र शाहको झिल्के विकासको अन्ध समर्थक २४ वडाका अध्यक्ष विनोद कुमार राजभण्डरीले श्री तानादेवी (तारिणी भवानी) संरक्षण समितिको गुठीअन्तर्गतको जग्गा हिनामिना भएको घटनामा मौन समर्थन गरेर आफ्नो विकृत रूप प्रदर्शन गरेका छन् । वडाअध्यक्ष राजभण्डारीले आर्थिक दैनिकसँग कुरा गर्दै गुठीको ८२ रोपनी जग्गामध्ये केही जग्गा बिक्रीको लागि पत्र आएको र सो पत्र आफ्नो टेबलमा नै रहेको बताउँदै सो जग्गा बिक्री गर्न आफूले रोक्न नसक्ने बताए । सरकारले गुठीको जग्गा किनबेचमा रोक लगाए पनि वडा अध्यक्षको हैसियतले आफुले सो जग्गा बिक्रीमा रोक नलगाउने र आवश्यक परे गुठी संस्थानले नै कार्य गर्ने बताए । सयौँ वर्षदेखि सञ्चालनमा रहेको गुठीमा अध्यक्ष भुवन लाल श्रेष्ठले करिब २०६७ सालदेखि नै सम्पूर्ण जग्गाहरू व्यक्तिगत जग्गा जसरी बेचबिखन गर्नेगरेको भन्दै उजुरी परेपछि गुठीको जग्गा किनबेच हुनेगरेको तथ्य बाहिरिएको हो । अध्यक्ष भुवन लाल श्रेष्ठले जग्गा बेचबिखन गर्नेकै लागि गुठीको सञ्चालक समितिमा आफ्नो कान्छो छोरा राकेश लाल श्रेष्ठलाई सदस्य, सालीको छोरा विरेन्द्र काजी श्रेष्ठलाई सचिव, आफ्नो दाइको छोरा प्रिमियर श्रेष्ठलाई सदस्य बनाएका छन् । स्रोतका अनुसार गुठीभित्र आर्थिक हिनामिना गर्दै आएका अध्यक्ष श्रेष्ठसँगको मिलेमतोमा रामेश्वर दाहाल र धु्रव थापालाई एजेन्ट बनाएर गुठीको जग्गा बेच्ने गरी गत वैशाख २१ गते सञ्चालक समितिबाट निर्णय गराएका थिए । अध्यक्ष भुवन लाल श्रेष्ठले एजेन्टहरू रामेश्वर दाहाल र धु्रव थापालाई गुठीको नाममा रहेको कित्ता नम्बर ७८, २८४ र २८६ को जग्गा करोडौँ रुपैयामा बिक्री गरी दिनेगरी माइन्युट बनाएपछि समितिमा समेत विवाद बढेको थियो । संस्थामा जग्गा हिनामिनासँगै अत्यधिक आर्थिक अनियमितता हुन थालेपछि अख्तियारको फन्दामा पर्ने भन्दै सञ्चालक समितिका उपाध्यक्ष मुकुन्द बहादुर श्रेष्ठ तथा सदस्यहरू योगेन्द्र मान श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ र सुदिप श्रेष्ठले राजीनामा दिएका छन् स्रोतले भन्यो राजीनामा दिएकाहरूलाई समेत राजीनामा दिन अड्काएर केही पत्रमा हस्ताक्षर गर्न बाँकी छ भन्दै जग्गा बिक्रीको कागजपत्र मिलाइएको छ । करिब दुई सय परिवारको गुठी भए पनि गुठीयारहरू भने छ÷सात जना मात्र रहेको सयौँ वर्ष पुरानो सो गुठीमा अध्यक्ष भुवनलाल श्रेष्ठले विभिन्न नाममा आर्थिक हिनामिना गर्नेगरेको समेत स्रोतले दाबी गरेको छ । अध्यक्ष श्रेष्ठले गुठीमा तलबमा कामदार राख्न नपाउने भए पनि आफूले भनेबमोजिम काम गर्नेगरी रामेश्वर श्रेष्ठ तथा दुर्गा श्रेष्ठलाई कर्मचारीको रुपमा नियुक्त गरी विभिन्न शीर्षकहरू नबाएर पैसा दिनेगरेको स्रोतले दाबी गरेको छ । गुठीको जग्गा व्यक्तिले विभिन्न निकायहरूसँग मिलेमतो गरी बेचबिखन गरेपछि त्यसविरुद्ध जिल्ला प्रशासन कार्यालयको साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो भने सो उजुरीउपर समेत खासै कारबाही हुन नसकेकोले थप आशंका उत्पन्न भएको गुठी संरक्षणको पक्ष लागेकाहरूको आरोप छ । गुठीको जग्गा मिलेमतोमा बिक्री गर्नलागेको विषयमा प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा अध्यक्ष भुवनलाल श्रेष्ठको सालीको छोरा सञ्चालक समिति सचिव विरेन्द्र काजी श्रेष्ठले आफू मिटिङ भएको र पछि फोन सम्पर्क गर्ने बताए पनि केही समयपछि आर्थिक दैनिकले गरेको फोन सम्पर्कमा उनी आउन चाहेनन् भने सञ्चालक समितिका कोषाध्यक्ष रामेश्वर लाल श्रेष्ठ आफूलाई यो विषयमा जानकारी नहुने भन्दै पन्छिए । गुठीलाई आफ्ना आफन्तहरूको भर्तीकेन्द्र बनाएका अध्यक्ष भुवनलाल श्रेष्ठको इसारामा चल्ने सचिव तथा कोषाध्यक्षले समेत जग्गा बिक्री गर्नको लागि मालपोतलगायतका ठाउँहरूमा मिलाउन वार्ता गरिरहेको स्रोतले दाबी गरेको छ ।