काठमाडौं । कीर्तिपुरको चोभारमा निर्मित पञ्चु तथा पाल–सायर प्लान्टको उद्घाटन गरिएको छ । सैनिक कल्याणकारी कोषको लगानीमा नेपाली सेना बहु–व्यवसाय उद्योगअन्तर्गत निर्मित सो प्लान्टको मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत उद्घाटन गरेका हुन् ।
नेपाली सेनाको बन्दोबस्ती प्रणालीलाई थप प्रभावकारी बनाउँदै अत्यावश्यक सैनिक सामग्रीहरू उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सो प्लान्टको स्थापना गरिएको हो । यस प्लान्टको स्थापनासँगै नेपाली सेनालाई आवश्यक पर्ने गुणस्तरीय पञ्चु तथा विभिन्न प्रकारका पाल–सायरहरूको उत्पादन हुने सेनाले जनाएको छ । उक्त कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देलले प्लान्टको अवलोकन तथा निरीक्षण समेत गरेका थिए । साथै, उनले नव निर्मित प्लान्टका बारेमा जानकारी लिएका थिए । सो अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति रहेको थियो ।