काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०७९ बाट डा. भेषबहादुर थापा सम्मानित हुने भएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा थापालाई सम्मान गरिने कुरा सार्वजनिक गरिएको हो ।
नेपाल जनप्रशासन संघले सार्वजनिक वितरण क्षेत्रको अग्रणी संस्था साल्ट ट्रेडिङ कर्पोरेसनको सौजन्यमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय हेमबहादुर मल्लको स्मृतिमा दुई लाख राशिको पुरस्कारसहितको सम्मान थापालाई दिने निर्णय गरेको हो ।
डा. थापाले पाँच दशकसम्म निरन्तरण सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै संघले सम्मानित गर्ने निर्णय गरेको बताएको छ । हरेक वर्ष सम्मान गरिने उक्त सम्मानबाट सम्मानित हुने डा. थापा २०औँ व्यक्ति हुन् ।
सम्मान छनौटका लागि नेपाल सरकारका पूर्वसचिव एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालको संयोजकत्वमा एक सम्मान छनौट समिति गठन गरेको थियो । सो समितिमा नेपाल जनप्रशासन संघका तत्कालीन अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र सचिव शिशिरकुमार ढुंगाना सदस्य थिए ।