काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले बुधबार सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता जनाउँदै नेपालको राष्ट्रिय आकाङ्क्षाका रुपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सार्थक बनाउन राष्ट्रसङ्घको सहयोगको अपेक्षा व्यक्त गरे । राससका अनुसार नेपालको समृद्धि, सुशासन, विकास र स्थिरताका लागि मुलुकका दुई ठूला दलको सहकार्यमा नयाँ सरकार गठन भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसँगसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा टुङ्ग्याउने तयारी भएको उल्लेख गर्दै यस्ता सवालमा राष्ट्रसङ्घको सदवै सहयोगको अपेक्षा व्यक्त गरे ।
सो अवसरमा आवासीय प्रतिनिधि सिङ्गरले नेपालको विकास र समृद्धिका प्राथमिकताका क्षेत्रमा राष्ट्रसङ्घको निरन्तर साथ रहने विश्वास दिलाए । राष्ट्रसङ्घले नेपालको गरिबी निवारण, ऊर्जा, स्वास्थ्य, विपद् जोखिम न्यूनीकरण र अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ भने नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुक्षाका लागि राष्ट्रसङ्घीय नीति बमोजिम शान्ति सेनामार्फत योगदान गर्दै आएको छ ।