काठमाडौं । पर्यटकीय एवं धार्मिक नगरी बन्दीपुरमा साउन १ गतेदेखि सुरु भएको ‘शिव महिम्नाहा उत्सव’ को सोमबार समापन हुने भएको छ । व्यास गुफा मूल संरक्षक कीर्तन शिरोमणि शक्ति स्वरूपानन्द श्री दामोदर बाबाले समापन सत्रको अवसरमा एकदिने सङ्गीतमय शिवपुराण कथावाचन गर्ने भएका छन् ।
साउन १ गतेदेखि निरन्तर शिव आराधना तथा सन्ध्याकालीन आरती र हरेक सोमबार हुँदै आएको मस्र्याङ्दी नदी, सिद्धेश्वर महादेव, केबलकार यात्रा, खड्ग देवी मन्दिर विन्दवासिनी मन्दिर हुँदै तीनधारे शिव ज्योतिर्लिङ्गसम्मको बोलबम यात्राको समापन गर्न लागिएको ‘शिव महिम्नाहा उत्सव’ मूल आयोजक समितिका अध्यक्ष किरण पोख्रेलले जानकारी दिए । साउन २८ गते चौथो सोमबार बिहान ११ बजेदेखि सुरु हुने भव्य धार्मिक सांस्कृतिक कार्यक्रम, एक दिने सङ्गीतमय शिवपुराण कथावाचन तथा दिव्य महाआरती कार्यक्रम बन्दीपुरको तीनधारा परिसरमा गरिने आयोजक समितिले जनाएको छ ।
सुरुवाती चरणमा नै हजारौँ भक्तजनहरूको सहभागिता रहेको यस कार्यक्रमले बन्दीपुरको धार्मिक पर्यटनको प्रवर्द्धन गरेको तथा आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्ने आगन्तुकहरूले बताएका छन् । ‘शिव महिम्नाहा उत्सव’ मूल आयोजक समितिको आयोजना सञ्चालित यस कार्यक्रमको प्रायोजन बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले गरेको छ ।