काठमाडौं । बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास(बिमस्टेक) बिजनेस समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ । आफूले गत वर्ष गरेको प्रस्तावअनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उक्त बैठकमा सहभागी अध्यक्ष ढकालले चेम्बर विधान बनाई तत्काल कार्यान्वयन गर्न आह्वान गरे । बिमस्टेक राष्ट्र चेम्बरका प्रतिनिधिहरूको बुधबार बसेको बैठकमा उक्त निर्णय गरिएको थियोे । बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ ।
बैठकमा भएको वार्ताअनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । चेम्बरको अध्यक्षता वर्णानुक्रमअनुसार हुनेछ । सो बैठकमा अध्यक्ष ढकालसहित महासंघका पूर्वअध्यक्ष भवानी राना र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ पनि सहभागी थिए ।