बाग्लुङ, मंसिर १८
गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । बागलुङ बडीगाड– ७ को कोप्चेमा मंगलरबार भएको दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । त्यस्तै एक जना भने बेपत्ता भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकाशं गुल्मीको इस्मा गाउँपालिकाका रहेको प्रहरीले जनाएको छ ।
इस्मा गाउँपालिका–५ का २६ वर्षीय सवारीचालक रेशम थापा, सोही वडाको दोबाट बस्ने ४० वर्षीया बसुन्धरा कार्की, ढाडुङा बस्ने माया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । त्यस्तै नवलपरासी जिल्ला बर्दघाट– २ बस्ने ६० वर्षीया भुमा कार्की, बागलुङ बडीगाड ७ बस्ने ५५ वर्षीया नरमाया खत्री, गुल्मी जिल्ला इस्मा गाउँपालिका–४ दोहोली बस्ने ४० वर्षीया सीता कार्की, इस्मा–४ का ६५ वर्षीया झवी कार्कीको मृत्यु भएको छ ।
त्यस्तै इस्मा गाउँपालिका–४ दोहोलीका ४५ वर्षीया भूमी कार्की, २५ वर्षीया मीना बस्नेत र ६५ वर्षीय धनबहादुर कार्की को पहिचान खुलेको छ । घाइते हुनेमा नवलपरासी बर्दघाट– २ का १८ वर्षीय जीवन कार्की, इस्मा गापा–४ का ८ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसी रहेको प्रहरीले जनाएको छ भने इस्मा गाउँपालिका–४ दोहोलीका ६५ वर्षीय धनबहादुर कार्की बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँं ल्याइएको प्रहरीले जनाएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका बायोखोलामा दिवाली पूजाको लागि हिँडेको ग १ ज ५२१९ नं को जीप दुर्घटनामा परेको हो । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।