काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार भएको सो भेटमा द्विपक्षीय आपसीहित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा नेपाल–भारत मिलेर काम गर्न जरुरी रहेको बताए । नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सचिव मिस्रीको कार्यकालमा दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
नेपालमा जलविद्युत् विकास, दिगो एवं सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत्, व्यापार, लगानी, पर्यटन तथा मानवसंशाधन विकास नेपालको प्राथमिकता रहेको बताए ।
सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले नेपाल सरकारका कैयौँ योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतमा भारत पनि काम गर्न इच्छुक रहेको बताए । उनले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल–भारतबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रष्ट पारे ।