रिलायन्स स्पेनिङ मिल्सले सर्वसाधारणका लागि बिक्री गर्न लागेको प्राथमिक सेयर (आईपीओ)को लागि स्वीकृति माग गर्दै नेपाल धितोपत्र बोर्डमा पेस गरेको वित्तीय विवरण नै नक्कली देखिएको छ । सेयर निष्काशनको लागि कम्पनीले पठाएको वित्तीय विवरणमा उल्लेख भएको कारोबार रकम, सेयरमूल्य र नाफा नै अस्वाभाविक देखिएको भन्दै बोर्डले थप अनुसन्धानको लागि रिलायन्स स्पेनिङको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पठाएको छ ।
कम्पनीले पठाएको वित्तीय विवरण झुटो, कपोकल्पित र जालसाझीपूर्ण रहेकाले थप अनुसन्धान गरी दोषीलाई कारबाही गर्नको लागि उक्त फाइल सीआईबीमा पठाएको बोर्ड स्रोतको भनाइ छ । बोर्डले २०८१ असार १२ गते रिलायन्स स्पेनिङ मिल्सलाई प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसा मूल्य कायम रहने गरी साधारण सेयर निष्काशन गर्न अनुमति दिएको थियो । बोर्डको अनुमतिअनुसार कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीका क्रममा रहेकाहरूको लागि असार २७ गते एक लाख १५ हजार पाँच सय ९६ कित्ता साधारण सेयर निष्काशन गर्ने प्रक्रिया सुरु गरेको थियो । तर, त्यसअघि असार २४ गते नै उक्त कम्पनीले अस्वाभाविक सेयरमूल्य राखेर साधारण सेयर निष्काशन गर्न लागेको भन्दै सीआईबीमा उजुरी परेपछि सेयर निष्काशन प्रक्रिया अवरुद्ध भई अनुसन्धान प्रक्रियामा गएको थियो । सोही क्रममा कम्पनीको वित्तीय विवरण अस्वाभाविक देखिएको र सेयर निष्काशन प्रक्रियाकै लागि नक्कली वित्तीय विवरण तयार पारेको देखिएपछि थप अनुसन्धान गर्नको लागि फाइल सीआईबीमा पेस गरेकोे स्रोतले जानकारी दिएको छ ।