काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमा उपनिर्वाचन गर्न तयारी सुरु गरेको छ । आयोगले देशका विभिन्न नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष गरी रिक्त रहेका ३४ पदका लागि उपनिर्वाचनको तयारी सुरु गरेको जनाएको छ ।
आयोगले मंगलबार एक सूचना जारी गर्दै उपनिर्वाचनको तयारी थालिएकाले मतदाता नामावालीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त पदमा पदावधि एक वर्षभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने व्यवस्था छ । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । आयोगका प्रवक्ता रघुराम विष्टले गाउँपालिका तथा नगरपालिकाका यस्ता पदहरू रिक्त हुँदा आमनागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचनका लागि आयोगले आन्तरिक तयारी गरिरहेको जानकारी दिए । ‘निर्वाचनका लागि मतदाता नामावली आधारभूत तत्व रहेको र मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता स्थगित गर्नुपर्ने कानुनी व्यवस्था छ’, आयोगद्वारा सूचनामा भनिएको छ, ‘उपनिर्वाचनको मिति घोषणा गर्नुपूर्व मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न सबैमा आग्रह गर्छ ।’
आयोगले आफूलाई पायक पर्ने प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फारामभरी नियमितरूपमा मतदाता नामावली दर्ताको व्यवस्था मिलाएबमोजिम योग्यता पुगेका सबै नेपाली नागरिकलाई नाम दर्ता गर्न आह्वान गरेको हो ।