किएभ । युक्रेनले रुसी भूभागको एक हजार वर्ग किलोमिटर क्षेत्रभित्र पर्ने २८ गाउँ कब्जा गरेको छ । अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुका अनुसार एक साताअघि युक्रेनि सैनिकले रुसको कुस्र्क क्षेत्रमा आक्रमण गरेका थिए । त्यसयता उनीहरुले २८ वटा गाउँ कब्जा गरिसकेको बताइएको छ ।
अगस्ट ६ मा ट्याङ्क र तोपखानासहित करिब एक हजार युक्रेनी सैनिक कुस्र्क प्रवेश गरेका थिए । त्यसपछि अगस्ट ८ मा रुसले त्यस क्षेत्रमा संकटकाल लगाएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई युक्रेनको उत्तेजक कार्य भनेका छन् । उनले आफ्ना रक्षा अधिकारीहरुलाई युक्रेनी सेनालाई रुसी भूभागबाट हटाउन आदेश दिएका छन् ।
पुटिनले सोमबार कुर्स्कका स्थानीय नेताहरुलाई भेटेका थिए । कुर्स्क प्रमुख एलेक्सी स्मिर्नोभले पुटिनलाई आफ्नो क्षेत्रका धेरै बस्तीहरु युक्रेनी सेनाले कब्जा गरेको बताए । युक्रेनी सेनाको आक्रमणमा ११ जना रुसी नागरिक मारिएका छन भने एक सय २१ जना घाइते भएका छन् ।
रुसले त्यस क्षेत्रमा बस्ने एक लाख २१ हजार नागरिकलाई गाउँबाट निकालेर सुरक्षित स्थानमा सारिएको जनाएको छ । अहिले युक्रेनी सेनाले करिब दुई हजार रुसी नागरिकलाई कब्जामा राखेको बताइएको छ ।
पुटिनले युक्रेनसँग सम्झौता नगर्ने
युक्रेनले रुसी भूभाग कब्जा गरेर युद्धविराम सम्झौताका लागि आफ्नो अडानलाई बलियो बनाउन चाहेको तर आफूले कुनै सम्झौता नगर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले युक्रेनले रुसी नागरिकको हत्या गरेको र आणविक उर्जा केन्द्र नजिकै आक्रमण गरेको बताएका छन् ।
रुसले सन २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेयता युक्रेनले रुसमाथि आक्रमण गरेको यो पहिलोपटक हो । युक्रेनी सेनाले रुसी सहर सुदजामा आक्रमण गर्ने योजनासहित अगाडि बढेको दाबी गरिएको छ । युक्रेनी सैनिकहरुले भवनहरुमा रहेका रुसी झण्ड हटाएर आफ्नो देशको झण्डा राखेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।