काठमाडौँ । प्रतिनिधि सभा बैठकमा बुधवार संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
उनले संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौती, जनताका असीमित आकंक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा हुन नसकेको भन्दै संविधानको कार्यान्वयनमा एक हुन नसकेको बताए।
संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौती, जनताका असीमित आकांक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा नभएको बताउदै अध्यक्ष दाहालले संविधानको रक्षा जनताका उपलब्धिको रक्षा, जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान तयार रहेको बताए।
नेपालमा शान्ति–प्रक्रियाको आफ्नै ढाँचाको परिकल्पना गरिएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले यसले बहुलवादको रक्षा, लोकतान्त्रिक प्रणाली स्थापित, परम्परागत संसदीय राजनीतिभन्दा सामाजिक न्याय तथा पूर्ण लोकतन्त्रको प्रवर्द्धनमार्फत सम्पूर्ण नेपाली जनतालाई शान्ति र सुशासनको प्रत्याभूति गराउने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले अहिले पनि सहिदका परिवारले न्याय नपाइसकेको स्थिति रहेको भन्दै बेपत्ता नागरिकका परिवार शान्तिले सुत्न नपाएको बताए। उनले शान्तिकोष स्थापना गर्ने कुरा बजेटमार्फत सुनिश्चित गरे पनि कार्यान्वयन अझै सुरु नभएको बताए।