काठमाडौं,बचतकर्ताको रकम हिनामिना गरेपछि गाउँपालिकाका अध्यक्ष माथि पक्राउ पुर्जी जारि भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
पक्राउ पुर्जी जारि भएपछि उनी फरार भएको जानकारि प्राप्त भएको छ । स्याङ्जाको सदरमुकामस्थित सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको बिरुवा सेवा केन्द्रबाट भएको ३ करोड ६६ लाख रुपैयाँ हिनामिनामा उनको संलग्नता देखिएको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सूर्योदय सहकारीको विरुवा सेवा केन्द्रबाट फर्जी कर्जा खाता बनाउने, बचतकर्ताको रकम पनि आफ्नो व्यक्तिगत स्वार्थमा लगाउने गरेको खुलेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले बताएको छ ।
कुँवरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित कुँवरले ०७६/७७ सालमा आफू सहकारीको सचिव हुँदा बचत रकम नेताहरुलाई आफूखुसी चलाउन दिएको र आफूले पनि चुनावमा खर्च गरेको छानबिनको क्रममा भेटिएको थियो ।
