कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माण गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको बुधबार ‘वेट टेस्ट’ (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने) कार्यको सुरुआत गरिएको छ ।
माछापुच्छ्रे गाउँपालिका–२ को सार्दिखोलाको भराभरीस्थित राजबगरमा रहेको आयोजनाको ‘हेडवक्र्स’ मा विधिवत् पूजा गरेर ‘वेट टेस्ट’ को औपचारिक सुरुआत गरिएको हो ।
भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवद्र्धन गरिएको सेती नदी जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएपछि बाँधस्थलबाट ‘पेनस्टक पाइप’मा पानी पठाएर परीक्षण सुरु भएको हो । ‘वेट टेस्ट’को कार्य तीन दिनभित्रमा पूरा हुने बताइन्छ ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण काम सकिएपछि ड्राइ टेस्टपछि ‘वेट टेस्ट’ सुरु गरिएको आयोजनाका प्रबन्धक इञ्जिनियर लेखनाथ पाण्डेले जानकारी दिए । उनले आगामी दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने जानकारी दिए । परियोजना प्रबन्धक पाण्डेले भने, ‘आयोजनाको स्ट्रक्चर र मेसिनरीतर्फको सबै काम सकेर आजदेखि ‘वेट टेस्ट’ सुरु गरेका छौँ । अबको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु गर्छौँ ।’
सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरेर सेतीको पेनस्टक पाइपमार्फत ल्याइएको छ । सो पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावर हाउसमा खसालेर विद्युत् उत्पादन गरिनेछ । विद्युत्गृहमा रहेका १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिनेछ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।