काठमाडौं । उपत्यकाका काठमाडौं, भक्तपुर तथा ललितपुरमा डेंगु संक्रमणका घटना वृद्धि भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेंगु रोकथामका लागि काठमाडौं उपत्यकाका स्थानीय तहहरुबीच बैठक बोलाएका छन् ।
जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न भन्दै मन्त्री पौडेलले उपत्यकाका महानगर, उपमहानगर तथा नगरपालिका सदस्य रहेको फोरमलाई बोलाएका हुन् । आम नागरिकलाई जोगाउन सहकार्य जरुरी रहेको भन्दै मन्त्री पौडेलले मिलेर काम गरे निन्त्रण गर्न सकिने बताए । उनले मन्त्रालय नीतिगत निर्णय र थप सहकार्यका लागि तयार रहेको पनि बताए ।
मन्त्री पौडेलले वडा तहसम्म सचेतना विस्तार गरेर डेंगुसँगै हैजासमेत नियन्त्रण गर्न आग्रह गरे । डेंगु जोखिमलाई ध्यानमा राखेर मन्त्रालयले सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क राखेर उपचार थालेको मन्त्री पौडेलले जानकारी दिए । सरसफाईको कमीका कारण संक्रमण फैलने देखिएको भन्दै उनले स्थानीय तह र प्रदेशबाट समेत साथ मिलेमा मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाइ अभियान थालिने बताए ।