नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु) गर्न भारतीय कम्पनी केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज एलएलपीलाई छनोट गरेको छ ।
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट लेखापरीक्षण गराउन कम्पनी छनोट गर्न गत असार दोस्रो साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । त्यसपछि आवेदन परेकामध्ये ‘सर्ट लिस्ट’मा परेका पाँच कम्पनीबाट भारतको केपीएमजीलाई छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा सर्तअनुसार १० ठूला वाणिज्य बैंकहरूको बाह्य लेखापरीक्षकबाट सम्पत्तिको गुणस्तर परीक्षण गर्न राष्ट्र बैंकले नेदरल्यान्ड, भारत र पाकिस्तानका अडिट फर्मलाई सर्टलिस्ट गरेको थियो ।नेदरल्याण्ड्सको डेलोइट फाइनान्सियल एड्भाइजरी, पाकिस्तानको केपीएमजी तसिर हादी एन्ड कम्पनी, नेपाल र भारतको सीएसी एन्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि) तथा नेपालको बीके अग्रवाल एन्ड कम्पनी र भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ प्रालि सर्टलिस्टमा परेका थिए । यी सबैमध्ये भारतको केपीएमजी एसुरेन्सले लेखापरीक्षणको जिम्मा पाएको हो ।
राष्ट्र बैंकले अब केपीएमजीको वित्तीय प्रस्ताव भदौ १६ गते खोल्ने बताएको छ । त्यसपछि सम्झौता हुने र केपीएमजीले बैंकहरूको लेखापरीक्षण थाल्नेछ । सरकारले शोधनान्तर घाटा हटाएर बाह्य स्थायित्व कायम गर्न संरचनागत सुधार गर्न भन्दै आईएमएफबाट ‘विस्तारित ऋण सुविधा’ (ईसीएफ) लिएको छ । त्यसका लागि आईएमएफले विभिन्न सर्त राखेर ३६ महिनाको सो कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही कार्यक्रमअन्तर्गत १० ठूला वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षण गराउन लागेको हो । अहिलेसम्म सरकारले तेस्रो किस्ता प्राप्त गरिसकेको छ । बैंकहरूको लेखापरीक्षण सुरु भएपछि अर्को किस्ता प्राप्त गर्नेछ । नेपालले ईसीएफअन्तर्गत ३९ करोड ८८ लाख अमेरिकी डलर सहयोग प्राप्त हुन्छ ।